प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आज बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
उनले पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले सचिनमाथि असर पुर्याएको बताएका छन् । प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन् ।
उनले भनेका छन्, ‘बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !!’
सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले सचिनको निधन भएको हो । प्रधानमन्त्रीको पोस्टमा थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया दिइरहेका छन् । सामाजिक सञ्जालमा भाइरल बालगायकको रूपमा चर्चित परियारको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो ।