भीम रावलले लगाएका आरोप गाली हुन्
नेकपा एमालेले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । च्यासलमा बसेको ४३औं सचिवालय बैठकले सरकारलाई अझ गति बढाउन सुझाव दिएको छ ।
दुई वटा दल र अरु पनि मिलेर बनेको शक्तिशाली सकारले अझ बढी डेलिभरी गर्नुपर्छ भनेर सुझाव दिएको भन्दै उमपहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘यति (अहिले गरिरहेको काम) पर्याप्त छैनन, सरकारले अझ बढी पुस गरोस् । अझ बढी कामलाई तीव्रता दिओस् । दुई वटा दल र अरु पनि मिलेर बनेको शक्तिशाली सकारले अझ बढी डेलिभरी गर्नुपर्छ भनेर सुझाव दिएका छौं ।’
रकारले केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तर थुप्रै कामहरु गर्न बाँकी रहेको उनले बताए । ‘ती बाँकी कामहरु छिटो सम्पन्न गर्न खासखरी डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा, अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रीत गर्नुपर्छ भन्ने विश्लेषण गरिएको छ’, उनले थपे ।
भीम रावलले लगाएका आरोप गाली
यस्तै, पार्टीबाट निकालिएका पू्वउपाध्यक्ष डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दै लगाएका आरोपलाई गालीको संज्ञा दिएको छ । बिहीबार बसेको पार्टी केन्द्रीय सचिवालयको ४३ औँ बैठकपछि आयोजित पत्रकार सम्मेलनका क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले रावलले लगाएका आरोपलाई गालीगलौजको संज्ञा दिएका हुन् ।
‘भीम रावलजीबारे हामीले छलफल गरेनौँ । तर उहाँले ३१ पृष्ठ लामो लिखित दस्तावेजमा उल्लेख गरेका कुरा विगतकै गालीगलौजका निरन्तरता हुन्’, उनले भने, ‘२०७७ साल कात्तिकमा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तै भाषामा प्रधानमन्त्री केपी ओलीबारे १९ पृष्ठसहितको आरोप लगाएका थिए । अहिले भीम रावलले तिनै कुरालाई कपी पेस्टसहितको आरोप लगाएका हाम्रो निष्कर्ष हो ।’
उनले गालीगलौजले देश नबन्ने पनि बताए । ज्ञवालीले शान्ति प्रक्रियामा आएपछि माओवादी अध्यक्ष प्रचण्ड र अर्का नेता डा. बाबुराम भट्टराईले यसैगरी पुराना भनिने दलहरूलाई गालीगलौज गर्ने गरेको स्मरण गराए । ‘गालीगलौजले देश बन्ने भए, एक जमाना थियो डा. बाबुराम भट्टराई र प्रचण्डहरू देशका अन्य शक्तिलाई यो भन्दा चर्को गाली गर्थे’, उनले भने, ‘अहिले पनि रविजीहरू आएर गालीगलौज गरिररहनु भएको छ । रावलजीले ३१ पृष्ठमध्ये साढे ३० पृष्ठमा गालीगलौज र बाँकी आधाजतिमा आफ्ना योजना राख्नु भएको रहेछ । त्यहीकारण पनि उहाँको पार्टी सदस्यता नरहने निष्कर्षमा एमाले पुगेको हुनुपर्छ ।’
उपमहासचिव ज्ञवालीले बुधबार पत्रकार सम्मेलनमार्फत रावलले उठाएका प्रतिननिधिसभा विघटन, नेकपा विभाजनसहितका कुरालाई २०७९ को निर्वाचनबाटै खण्डन गरिसकेको बताए । ‘त्यसबेला नै चुनावमा गठबन्धन गरेर एमाले र एमालेका अध्यक्ष मुख्य समस्या भन्दै सात दल गएका थिए । प्रतिनिधिसभा विघटनसहितका कुरा उठाउँदा पनि एमालेको पहिलो रोजाइको दल एमाले बन्यो’, उनले भने, ‘जनस्तरमा खण्डन भइसकेका कुरा उठाएर गालीगलौज गर्नुको अब अर्थ छैन ।’
उनले अब कुनै पनि दल र नेताहरू गालीगलौज गरेर जान नहुने बताए । ‘अब कम्तीमा एमाले चाहिँ गालीगलौजको प्रतिस्पर्धामा जाँदैन’, उनले अगाडि भने । ज्ञवालीले सरकारलाई गति दिन संविधान संशोधन, सात बुँदे सहमति कार्यान्वयन, अपूरा विधेयक टुंग्याउने र नयाँ कानुन ल्याउने विषय तथा अर्थतन्त्रलाई उकास्ने गरी अलग अलग संरचना बनाएर काम भइरहेको पनि जानकारी दिए ।