Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

पर्यटकीयस्थल भेडेटारमा चहलपहल

पर्यटकीयस्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा चहलपहल बढेको छ । होटल एसोसिएसन भेडेटारको आयोजनामा सुनसरी र धनकुटा जिल्लाको सिमानास्थित पर्यटकीयस्थल भेडेटारमा प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हुने फुड फेस्टिभलका कारण त्यस क्षेत्रमा चहलपहल बढेको हो ।

भोलि बिहीबारसम्म सञ्चालन हुने तीनदिने सो फेस्टिभलले पर्यटन प्रवर्द्धन, होटल व्यवसाय, व्यापार र कृषि क्षेत्रको प्रचारप्रसारसहित प्रवर्द्धनमा सहयोग पुर्‍याउने आयोजकले जनाएको छ । स्थानीय ‘अर्गानिक’ खेती प्रणालीबाट उत्पादित तरकारी तथा फलफूल र खानाका परिकार, हस्तकला, कृषि–औजार, घरेलु तथा साना उद्योगका उत्पादन प्रदर्शनीमा राखिएको फेस्टिभल आयोजक समितिका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

उनले भने, ‘जाडो याम सुरु भएसँगै भेडेटार घुम्न आउने पर्यटकको सङ्ख्या घट्नेक्रम जारी छ, बजारलाई चलायमान बनाउन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी बर्सेनि यस किसिमको फेस्टिभल आयोजना गर्दै आएका छौँ, अहिलेसम्मको परिस्थितिलाई हेर्दा यस वर्ष पर्यटक संख्या वृद्धि हुने देखिएको छ ।’

फेस्टिभलका अवसरमा पर्यटकीयस्थलमा स्काइवाकको व्यवस्थासहित पाथीभारा मन्दिर, शङ्खेश्वर मन्दिर, नाम्जेको थुम्कीस्थित आत्माघर र ‘होम स्टे’, सूर्योदय बौद्धपार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरीगढी, ध्वजे डाँडालगायतका पर्यटकीयस्थल घुमाइने आयोजकले जनाएको छ ।

फेस्टिभलमा ५० हजार पर्यटकले अवलोकन गर्ने र रु तीन करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष लिम्बूले बताए । महोत्सवमा धरान, इटहरी, विराटनगरसहित झापा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, खोटाङलगायत आसपासका जिल्ला तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिलगुढीलगायतका सहरबाट मानिस आउने आयोजकले जनाएको छ ।