Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सदस्यता नै खाई दिएपछि विकल्पबाट हिंड्न बाध्य भएँः डा. भीम रावल

‘सत्तामा हुनेहरु नै बाह्रय हस्तक्षेप निम्ताउने उपकरण बने’

सत्तारुढ नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले सत्तामा रहनेहरु नै बाह्रय हस्तक्षेप निम्ताउने उपकरण बनेको आरोप लगाएका छन् । आज बुधबार पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले बाह्रय हस्तक्षेप धेरै भएको र त्यो निम्ताउने उपकरण सत्तामा रहनेहरु नै रहेको बताएका हुन् ।

उनले भने, ‘बाह्रय हस्तक्षेप धेरै भएको छ । सत्तामा हालीमुहाली गर्नेहरु यस्तो हस्तक्षेप निम्ताउने उपकरण बनेका छन्।’ डा। रावलले एमालेमा रहँदा आफूले राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको दाबी गरेका छन् । उनले जनतालाई सर्वोपरि राखेर आफूले काम गरेको दावी गरे ।

उनले निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएपनि प्रतिनिधि सभाको टिकट प्राप्त नभएको गुनासो गरे । उनले आफूलाई पछिल्लो समय जिम्मेवारी विहीन बनाइएको र पार्टीमा स्थान नदिएको उल्लेख गरे । आफ्नो व्यक्तिगत स्वार्थ नरहेको बताउँदै देश र जनताको पक्षमा निरन्तर खट्ने उनको भनाई छ ।

नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनु पर्ने हो भन्दै प्रश्न गरेका छन्। ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याई दिनुपर्ने हो र?,’ रावलको प्रश्न छ ।

उनले ठूला भनिएका दलहरू सिद्धान्तहीन बाटोमा लागेको आरोप लगाए । पूर्वउपप्रधान एवम् रक्षामन्त्री समेत बनेका रावलले भने, ‘ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेका छन् । पद हत्याउने होड चलिरहेको छ ।’ उनले कतिपय भ्रष्टाचार काण्डमा ठूलालाई जोगाइएको दाबी गरे । गत पुस १० गते सचिवालय बैठकले एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्काशन गरेको थियो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार रावलले निरन्तर पार्टी हित विपरीत गतिविधि गरेपछि साधारण सदस्य समेत नरहने गरी एमालेले कारबाही गरेको हो ।