Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

३४ करोड सम्पत्ति शुद्धीकरण मुद्दामा बैंकका कर्मचारीसहित तीन जना दोषी ठहर

कृषि विकास बैंकको झण्डै ३४ करोड ठगी गरी विदेश लगेर शुद्धीकरण गर्ने तीन जना सम्पत्ति शुद्धिकरण कसुरमा पनि दोषी ठहरिएका छन् । विशेष अदालतले आइतबार बैंकका तत्कालीन अधिकृत केदारप्रसाद गौततसहितलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि २२ पुसको पेसी तोकेको हो ।


सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत ५ चैतमा सूर्यबहादुर लिम्बु, कृष्णहरि थापा र केदारप्रसाद गौतमविरुद्ध मुद्दा चलाएको थियो । उनीहरुलाई विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले दोषी ठहर्‍याएको हो ।

तीनै जना प्रतिवादीहरुलाई यसअघि नै भ्रष्टाचार, बैंकिङ कसुर तथा सरकारी कागजात कीर्तेको मुद्दा समेत दायर भइसकेको छ । यी मुद्दामा सर्वोच्च अदालतबाट पनि सुरु सदरको फैसला भएको भन्दै विशेषले यस मुद्दामा पनि ठहर हुने फैसला गरेको हो । प्रतिवादीहरुले ३३ करोड ९३ लाख रुपैयाँभन्दा बढी सम्पत्ति कसूरबाट आर्जन गरेको र तह–तह हस्तान्तरण तथा रुपान्तर गरेको निष्कर्ष विशेषको छ ।

गौतमले आफ्नो नाम तेजबहादुर थापा राखेर कारोबार गरेका थिए । यस मुद्दामा अनुसन्धानपछि २१ भदौ ०७२ मा सरकारी वकीलले विभागमा पनि अनुसन्धानका लागि पत्राचार गरेको थियो । गौतमले थापासमेतको मिलेमतोमा योजनाबद्ध तरिकाले हुँदै नभएको व्यक्तिका नाममा खाता खोली रकम ट्रान्सफर गरेको भेटिएको थियो । यस मुद्दामा दर्जनभर प्रतिवादी भए पनि सम्पत्ति शुद्धिकरणको कसूरमा भने तीन जना प्रतिवादी कायम गरिएकोमा उनीहरुमाथि कसूर कायमको फैसला भएको हो ।

बैंकको स्वयम्भु शाखाका कर्मचारी गौतमले २०७१ सालमा विभिन्न नक्कली खाता बनाएर बैंकको २३ करोड ९३ लाख रुपैयाँ स्थानान्तरण गरेका थिए । त्यसरी स्थानान्तरण गरिएको पैसा हुन्डीमार्फत भारत लगिएको थियो । पछि जागिर छाडेर तेजबहादुर थापाको नाममा पासपोर्ट बनाएर कान्छी श्रीमती पोर्चुगल जान खोज्ने क्रममा सिआइबीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

ठगी गरेको पैसा विदेश लगेर शुद्धीकरण गरेको कसुरमा छुट्टै मुद्दा दायर भएकोमा त्यसमा पनि उनी दोषी ठहर भएका हुन् । दोषी ठहर हुने कृष्णहरि थापा नामक व्यक्ति भने अझै पत्ता लागेका छैनन् । उनकै योजनामा आफूले बैंकको सिष्टममा खेलेर पैसा स्थानान्तरण गरेको गौतमको बयान थियो । भारतमा बस्ने भनिएका थापाको ठेगाना समेत प्रहरीले पत्ता लगाउन सकेको छैन ।