Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एनपीएल: फाइनल पुग्न जनकपुरलाई कर्णालीले दियो १ सय १९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११८ रनको योगफल खडा गरेको हो । कर्णालीका अलराउन्डर गुल्सन झाले सर्वाधिक २५ रन बनाए । १७औँ ओभरको पहिलो बलमा मोहमद मोहसिनबाट बोल्ट हुनुअघि गुल्सनले २० बलमा एक चौका र दुई छक्का प्रहार गरे ।

ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्कासहित २४ रन जोडे । देवलाई छैटौँ ओभरको पहिलो बलमा जिम्मी निसमले आकाश त्रिपाठीबाट क्याच गराए । यसबाहेक, विलियम बोसिस्टोले १५ बलमा एक चौकासहित १४ रन बनाए । जिसान मक्सुदले ११ बलमा दुई चौकासहित १२ र चान्डविक वाल्टनले १३ बलमा एक चौकासहित ११ रन थपे ।

कर्णालीविरुद्ध जनकपुरका ललितनारायण राजवंशी, मोहमद मोहसिन र जिम्मी निसमले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका ललितले २२ रन खर्चिए । चार ओभर नै बलिङ गरेका मोहसिनले एक मेडन फ्याँक्दै १४ रनमात्र खर्चिए । यसबाहेक, हर्ष थाकेर र शेर मल्लले समान एक विकेट लिए ।