नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजका रवि बोपारा तीन अर्धशतक प्रहार गर्ने एक्ला खेलाडी बनेका छन् ।
बुधबार भएको एलिमिनेटर प्रतिस्पर्धामा बोपाराले कर्णाली याक्सविरुद्ध तेस्रो अर्धशतक पूरा गरेका हुन् । उक्त खेलमा उनले ३४ बलमा ४ छक्का र ३ चौका मद्दत ५३ रन जोडे । यसअघि बोपाराले लिग चरणको खेलमा कर्णालीविरुद्ध नै दोस्रो अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले अविजित ५९ रन जोडेका थिए ।
बोपाराले जारी प्रतियोगितामा पोखरा एभेन्जर्सविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले ५१ रन जोडेका थिए । दुई अर्धशतक प्रहार गर्ने खेलाडीहरूको सूचीमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र कर्णालीका विलियम बिसिस्टो पनि छन् ।