गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको स्थायित्वबारे पनि आफ्नो धारणा राख्दै सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन् । आज आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार वर्तमान सरकार आफ्नो कार्यभार अघि बढाउँदै जाने बताए ।
गृहमन्त्री लेखकले अहिले सरकार र मन्त्री परिवर्तन नहुने बताएका हुन् । आफू जिल्ला–जिल्लामा जाँदा सरकारलाई लिएर पत्रकारहरूले प्रश्न सोध्ने गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सहमतिअनुसार अहिलेको सरकार २०८४ सालसम्मै रहने दावी गरे ।
‘यो सरकार परिवर्तन हुने र फेरि अर्को सरकार बन्ने भन्ने खालका जति पनि हल्ला छन् त्यसको अर्थ छैन,’ गृहमन्त्री लेखकले भने, ‘यो सरकार र मन्त्रीहरू परिवर्तन हुने भन्ने अस्थिरताको सन्देश दिन खोजेको जस्तो देखिन्छ ।’ कांग्रेस र एमाले असार १७ मा भएको ७ बुँदे सहमतिअनुसार नै अघि बढेको र गठबन्धनमा कुनै पनि समस्याहरू नआएको उनको भनाइ छ ।
गृहमन्त्री लेखकले संविधान संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र समावेशितालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले गर्न लागिएको स्पष्ट पारेका छन् । उनले संविधान संशोधनको प्रारम्भिक छलफल दुई ठूला राजनीतिक दलहरूले सुरु गरिसकेको समेत जानकारी दिएका छन् । संविधान संशोधन दुई दलको प्रयासले मात्र सम्भव नहुने भन्दै सबै राजनीतिक दलहरूसँगको समन्वय र सहमतिका साथ अघि बढ्ने योजना रहेको उनले सुनाए ।
गृहमन्त्री लेखकले संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई पहिचान गरेर सबै दलहरूबीच संवाद र छलफलमार्फत सहमतिका साथ संविधान संशोधन गरिने जानकारी दिए । ‘संविधान संशोधनको कुरा गर्दा विभिन्न प्रकारका व्याख्या भइरहेका छन् । हाम्रो उद्देश्य भनेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिताको सिद्धान्तलाई अझ बलियो बनाउनु हो,’ उनले भने ।