Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

रवि लामिछानेलाई राति नै पोखरा लगियो

सहकारीको रकम अपचलनमा सघाएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले बुधबार राति नै चितवनबाट पोखरा लगेको छ । बिहान उनका समर्थकहरुको भिडभाड हुनसक्ने भएपछि प्रहरीले राती नै सडकमार्ग हुँदै पोखरा लगेको हो ।

गए राति ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रवि लामिछानेको बयान सकिए पनि उनलाई खाना खुवाइवरी बयान प्रमाणित गरेर सरकारी वकिलको कार्यालयबाट बिदा गरी प्रहरीमा पठाउँदा राती ९ बजेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले राती नै वीरगञ्ज लगिने तयारी भए पनि आइतबार हिरासतमा राख्ने म्याद थप गर्नुपर्ने भएकोले लामिछानेलाई पोखरा लगिएको हो । ३ बजे लामिछानेलाई चितवनबाट प्रहरीले पोखरा लगेको थियो । तीन घण्टामा पोखरा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

चितवनको सहारा सहकारीको विषयमा अनुसन्धान गर्न प्रहरीले मंगलबार उनलाई चितवन लगेको थियो । बयान सकिएपछि बुधबार बेलुका नै लामिछानेलाई पोखरा पठाइएको चितवनका एसपी गौतम मिश्रले बताए। बुधबार बयान चलिरहँदा सडकमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच भरतपुरमा झडप भएको थियो ।

लामिछानेविरुद्ध बुधबार मात्र पर्सामा पनि पक्राउ पूर्जी जारी भएको छ । गितेन्द्रबाबु (जीबी) राईको समूहले सञ्चालन गरेको वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गैरकानुनी रुपमा गएको पाइएपछि पर्सामा पनि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।

यसअघि उनको कास्की, रुपन्देही र काठमाडौंमा बयान भइसकेको छ । जिबी राईको समूहले सञ्चालन गरेका पाँच वटा सहकारीको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया लगायत कम्पनीमा लगिएको थियो । 

लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा कम्पनीको रकम खर्च गर्न उनको पनि भूमिका रहेको दाबी गरी पाँच जिल्लामा उनीविरुद्ध मुद्दा दायर हुन लागेको हो । सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा उनीमाथि दायर गर्न लागिएको छ । रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा उनीमाथि मुद्दा दायर भएको आरोप लगाउँदै आएको छ ।