Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

‘हनि ट्रयाप’ प्रकरण

एसपी थापासहित चार जनामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

नेपाल प्रहरीका एसपी कमल थापासहित चार जनाविरूद्ध थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ । ‘हनि ट्रयाप’ मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार प्रहरीलाई निर्देशन दिएको हो ।


केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन आधारमा सोमबार प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ । थापासहित अन्य पाँच जनालाई थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको राय छ । ताज इस्लाम, भगवती थापा, खुसी रसाइली र मनिषा कार्कीमाथि थप अनुसन्धान गरी प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएको हो।

थप अनुसन्धान गर्नुपर्ने देखिएकी मनिषा घटनाका मुख्य योजनाकार ताजकी प्रेमिका हुन् । उनैको योजनामा भैंसेपाटी  प्रभागकी तत्कालीन प्रहरी निरीक्षक शाहीसहितले एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै २० लाख रुपैयाँ असुलेका थिए । मुद्दा दायर भएकामा शाही, दर्शन पोखरेल, सहायक हवल्दार महेन्द्र हमाल, सुष्मा विक, ताज इस्लाम र भीमादेवी थापा छन् ।

शाही र पोखरेल फरार छन् । थापाले हनी ट्रयाप प्रकरणमा इस्लामलाई भैंसेपाटीकी इन्स्पेक्टर शाहीसँग ‘भेट’ गराइ दिएको आरोप छ । थापा कञ्चनपुरमा एसपी हुँदा शाही उनीसँगै काम गर्थिन् । थापाले हनी ट्रयापको सिलसिलमा रहेका इस्लामसँग एयरपोर्टस्थित एक होटलमा भेटेको तथ्य समेत फेला परेको छ । इस्लाम सुनसरीका हुन् । थापा सुनसरी बस्दासमेत इस्लाम उनीसँग निकट रहेको बुझिन्छ । 

ललितपुरका एक व्यवसायीलाई हनी ट्रयापमा पारी ३० लाख रुपैयाँ लिएको घटनामा ६ जनाविरुद्ध सोमबारदेखि बकपत्र सुरु हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ। आपराधिक लाभ र संगठित अपराधको कसुरमा भैँसेपाटी प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।