Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

बढ्यो राजस्व संकलनः चार महिनामा सवा तीन खर्ब

चालु आर्थिक वर्षको चार महिनाको राजस्व संकलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको चार महिनामा भने ३ खर्ब २३ अर्ब २४ करोड रूपैयाँ राजस्व संकलन भएको छ । 

पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब १२ अर्ब ३ करोड रूपैयाँ लक्ष्य रहेकोमा ७१.३८ प्रतिशत प्रगति भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब ७६ करोड रूपैयाँ लक्ष्य रहेकोमा ९२.५० प्रतिशत प्रगति हासिल भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा ११ खर्ब ८० अर्ब ६० करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ९०.२४ प्रतिशत प्रगति हासिल भएको थियो । 

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ३ अर्ब १५ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा ६८.२३ प्रतिशत र आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा ७४.५४ प्रगति भएको थियो । आर्थिक वर्ष २०८१/८२ को वार्षिक राजस्व संकलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको छ । यो लक्ष्य भनेको गत आर्थिक वर्षको यथार्थ असुलीको तुलनामा करिब ३४ प्रतिशतको वृद्धि हो ।

यसैमध्ये चालु वर्षको प्रथम चार महिनाको साउन, भदौ, असोज र कात्तिकमा ४ खर्ब ६ अर्ब ३७ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब २३ अर्ब २४ करोड रूपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व संकलन भएको छ । यो गत वर्षको यसै अवधिको राजस्व संकलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि बढी हो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत र खर्च व्यवस्थापन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै करको दायरा विस्तार, बक्यौता असुली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचारण, अन्तर मन्त्रालय समन्वय, भन्सार बिन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौती लगायतका पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक भएको बताए ।

अर्थमन्त्री पौडेलले कर संकलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्न समेत निर्देशन दिए । अर्थ सचिव डा। रामप्रसाद घिमिरेले राजस्वको लक्ष्य पूरा गर्ने गरी अघि बढ्ने बताउँदै राजस्व संकलन रणनीति कार्यान्वयनमा जोड दिए । राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्वको लक्ष्यलाई ध्यान दिएर थप मेहनत गरेर अघि बढ्ने बताए ।

अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले विगतको तुलनामा राजस्व संकलन वृद्धि भए तापनि चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहयोग जरुरी रहेको र त्यसलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको जानकारी गराए । 

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व संकलनका क्षेत्रमा देखा परेका अवसर र कमजोरीहरूलाई ख्याल गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न आफूहरूले सक्दो पहल गरिरहेको बताए ।

table.png