Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दुर्गा प्रसाईलाई वीर अस्पताल लगियो, कस्तो हुन सक्छ कारबाही?

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको अभियोगमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । आज मंगलबार पक्राउ परेका उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको हो ।

साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका उनलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ ।

प्रसाईंलाई कस्तो कारबाही हुन सक्छ ?
विद्युतीय अपराध कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद लिनेछ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् । प्रसाईंविरुद्ध यो ऐनको कुन दफा आकर्षित हुन्छ भनेर उनले खुलाएनन् ।

प्रसाईंले हिजो सोमबार प्रधानमन्त्री केपी ओलीले कम्बोडियामा ३२ अर्ब लगानी गरेको कागज भन्दै युट्युबलगायत सामाजिक सञ्जालमा देखाएका थिए । बालुवाटार स्रोतका अनुसार, आफू पक्राउ पर्ने भएपछि विषयान्तर गर्न प्रसाईंले झुट्टो विवरण सार्वजनिक गरेका हुन् । मुद्दा चल्ने अवस्थामा उक्त कागजको पनि सत्यापन जाँच हुन सक्छ । गलत भएमा प्रसाईंविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ दफा ४७ अन्तर्गत अनुसन्धान गर्न सक्छ । यसमा विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने उल्लेख छ ।

उपदफा ९१० मा भनिएको छ, ‘कम्प्युटर इन्टनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमको सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

यो कसुर पटक–पटक गरेमा अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने उपदफा ९२० मा उल्लेख छ । प्रसाईं केही महिनाअघि रास्वपाकी एक नेत्रीविरुद्ध साइबर अपराध गरेको आरोपमै पक्राउ परी एक लाख धरौटीमा छुटेका थिए ।