Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नेपाल बैंकको ८८औं वार्षिकोत्सव सम्पन्न

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८८औं वार्षिकोत्सवको अवसरमा भव्य समारोह आयोजना गरेको छ।

विसं १९९४ साल कार्तिक ३० गते स्थापना भएको यो बैंकले २०८१ साल कार्तिक ३० गते ८७ औं वर्ष पूरा गरी ८८ औं वर्षमा प्रवेश गरेको हो। यस ऐतिहासिक अवसरलाई बैंकले प्रधान कार्यालयको प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको हो।

उक्त समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले अध्यक्षता गरेका थिए । प्रमुख अतिथि अधिकारीले नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंक लिमिटेडले देशको वित्तीय विकासमा खेलेको ऐतिहासिक भूमिका प्रशंसा गर्नुभएको थियो।

नेपालभर २२९ शाखा, २०५ एटीएम मेसिन, र ६० एक्टेन्सन काउन्टरमार्फत २५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको नेपाल बैंकले पछिल्ला वर्षहरूमा ग्राहक सेवामा व्यापक सुधार गर्दै आएको छ।

बैंकले आधुनिक बैंकिङ प्रविधि अवलम्बन गरी प्रतिस्पर्धात्मक रूपमा सेवा प्रदान गर्दै आएको छ। डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै, करिब ९ लाखभन्दा बढी ग्राहकले डिजिटल माध्यमबाट बैंकिङ सेवा लिई लाभान्वित भएका छन्।

नेपाल बैंकले छिटोछरितो र गुणस्तरीय सेवा प्रदान गर्न युवा जनशक्तिको उपयोग गर्दै आएको छ। देशका दुर्गम स्थानसम्म वित्तीय सेवा पुर्याउँदै, बैंकले राष्ट्रको समग्र आर्थिक गतिविधिलाई सशक्त बनाउँदै आएको छ।

८८औं वर्षमा प्रवेश गरेको अवसरमा, बैंकले आगामी दिनमा पनि सेवा विस्तार, डिजिटलाइजेशन, र ग्राहक सन्तुष्टिमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ। बैंकले नेपालका ग्राहकहरूको विश्वासलाई मजबुत बनाउन र देशको आर्थिक प्रगतिमा निरन्तर योगदान पु¥याउन अग्रसर रहने बताएको छ।