Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

द ब्रिटिस कलेजमा ‘करियर फेस्ट–२०२४’ हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने प्रयास

ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा २५ र २६ नोभेम्बरका दिन थाथापलीस्थित कलेज हातामा करियर फेस्टको आयोजना हुन लागेको हो ।

देशभरका रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेका व्यक्तिहरू फेस्टमा सहभागी हुनेछन् । कलेजमा अध्ययनरत विद्यार्थी,पूर्व विद्यार्थीमात्रै नभई सर्वसाधरणहरु र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याई रोजगारीको अवसर प्रदान गर्ने, नेटवर्किङ बढाउने, र ज्ञान आदान–प्रदान गर्ने गतिशील मञ्चको रूपमा सेवा पुर्याउने लक्ष्यको साथ यो कार्यक्रमको आयोजना भएको कलेजले जनाएको छ ।

५० भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहने फेस्ट, रोजगारदाता तथा रोजगारीको खोजी गरिरहेका व्यक्तिहरुका लागि फलदायी हुने कम्पनीको विश्वास छ । फेस्टमा सहभागी हुने रोजगारदाता कम्पनीहरूले सो संस्थाको बिभिन्न पक्षहरुको बारेमा जानकारी प्रदान गर्नेछन् ।

साथै, सो कम्पनीहरुले प्रत्यक्ष अन्तरर्वार्ता लिई रोजगारीको अवसर समेत प्रदान गर्न सक्नेछन् । एउटै मञ्चबाट दुवै पक्षले फाइदा लिन सक्ने फेस्ट सरल र प्रभावकारी माध्यम भएको कलेजको विश्वास छ ।

ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याक क्रुडेनले नेपालमा रहेको‘ब्रेन ड्रेन’को समस्या समाधान गर्नको लागि यो पहल महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । ‘रोजगारीको अवसर पाउन कठिन भइरहेकोले नेपालबाट क्षमतावान् व्यक्तिहरू पलायन भइरहेको छन् ।

करियर फेस्ट २०२४ ले स्थानीय प्रतिभा पहिचान गर्दै रोजगारीको अवसर चाहिएका व्यक्तिहरूलाई नेपालमै सन्तोषजनक काम प्रदान गर्नको लागि आयोजना गरिएको हो,’प्रिन्सिपल म्याकक्रुडेनले भने, ‘यस्ता खालका कार्यक्रमहरूले प्रतिभा बाहिरिने प्रवृत्तिलाई रोक्न मद्दत पुर्याउन सक्छ, जसले नेपालको आर्थिक विकासलाई मजबुत बनाउन र उज्ज्वल भविष्यको मार्ग प्रशस्त गर्नेछ ।’

ग्रोथ सेलर्सका संस्थापक, मोहनओझाले ब्रिटिस कलेजले आयोजना गर्न लागेको फेस्ट रोजगारी खोज्नेहरूलाई फलदायीहुने विश्वास व्यक्त गरे ।