Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

उद्योगीले १५ दिनभित्र बक्यौता महसुल नतिरे फेरि लाइन काट्ने कुलमानको चेतावनी

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल उद्योगीले १५ दिनभित्र नतिरे फेरि लाइन काट्ने बताएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले लाइन जोडिएको बताए। ‘हामीले बक्यौता महसुल नबुझाउने २८ उद्योगको लाइन कात्तिक ८ गते काटेका थियौं। नेपाल सरकारबाट १५ दिनभित्र बक्यौता उठाउने गरी हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ।’ घिसिङले भने, ‘हामी बक्यौता उठाउन लाग्नेछौँ। उहाँहरूले पनि बुझाउनुपर्नेछ। १५ दिनभित्र पनि बक्यौता तिर्न नआए हामी फेरि आफ्नो प्रक्रियामा जान्छौं।’

उनले अब यो विषय प्राधिकरण र सरकारको मात्र नभइ आम जनचासोको विषय बन्नुपर्ने बताए। बक्यौता तिर्नको लागि २८ किस्ताको सुविधा दिइएको भन्दै घिसिङले एउटा मात्रै किस्ता तिरेका उद्योगको पनि लाइन नकाटिएको बताए। उनले अहिले १४ उद्योगले यस्तो सुविधा उपभोग गरिरहेको पनि जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णय र निर्देशनसँगै प्राधिकरणले सबै उद्योगको लाइन जोडिसकेको छ।