Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दाङबाट भ्रमणमा आएको बस पोखरामा दुर्घटना

कास्कीको पोखरा महानगरपालिका–२२ शान्ति स्तुपा नजिकै भएको बस दुर्घटनामा दुई जना घाइते भएका छन् । बिहीबार दिउसो करिब साढे १२ बजेको समयमा पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नवयुग डान्स क्लब दाङको भ्रमण टोली बोकेको बस दुर्घटनामा परेको हो ।

रा १ ख २१०६ नं.को मिनी बसका चालकले नियन्त्रण गुमाउँदा बस सडक छेउमा रहेको तिजुको रूखमा अड्किएको थियो । लगत्तै वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिएर बसमा सवार सात जना महिला र १७ जना पुरुष गरी २४ जनालाई एकत्रित गरेको थियो ।

तीमध्येका दुई जना घाइते भई उपचारको लागि नमस्ते अस्पताल बिरौटा ल्याइएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ की १७ वर्षीया सन्ध्या रसाइली र १९ वर्षीया  मनीषा रसाइली घाइते भएका र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । 

सडक छेउमा ओरालोतर्फ जोतिएको बसलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।