Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

रुकुमबाट काठमाडौं आउँदै गरेको बस पल्टिँदा २१ घाइते

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा बस पल्टिँदा २१ जना घाइते भएका छन् । 

बुधबार दिउँसो साढे ४ बजेतिर रुकुमपूर्वबाट काठमाडौं जाँदै गरेको ना ८ ख ८४१४ नम्बरको रात्रि बस सडकबाट पल्टिएको हो । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाइएको प्रहरीले बतायो । 

उद्धारका लागि इलाका प्रहरी कार्यालय बुर्तिवाङ र प्रहरी चौकी निसीखोलाबाट टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरी निरीक्षक सुनिल चिलुवालले बताए ।

घटनास्थल इलाका प्रहरी कार्यालयबाट ३० किमि र सदरमुकामबाट १ सय २० किमि पश्चिममा पर्छ । घटनामा थप उद्धारको काम भइरहेको चिलुवालले बताए । सोही स्थानमा गत वर्ष चैतमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।