Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

तिहारमा ५० करोड बराबरको फूलको कारोबार

यस वर्षको तिहारमा ५० करोड बराबरको फूलको कारोबार भएको छ । सबैभन्दा धेरै खपत काठमाडौं उपत्यकामा भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ ।

काठमाडौं महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्ष सहज भएको उनले बताए । यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो ।  बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ ।

विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए ।  काठमाडौं उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । 

व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका उनले जानकारी दिए । पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् । २२१ हेक्टरमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।