Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

धन खेत मासेर किबी खेतीः बजारमा उच्च माग

एक पटकको लगानीले वर्षौसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ।  काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबी खेती गरेका छन् । गत वर्ष पाँच सय केजी किबी बजार पठाएका उनको किबी बगैचामा यस पटक दोब्बर बढी उत्पादन भएको छ ।

गत वर्षदेखि उत्पादन दिन थालेको किबी वार्षिक रुपमा ५०० केजी भन्दा बढीका दरले उत्पादनमा वृद्धि हुँदै आएको छ।  किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको कँडेलको भनाइ छ । उनी जस्ता सयौं किसानले किबीलाई प्राथमिकतामा राखेर खेती गर्न थालेका छन् । प्रतिकेजी रु तीन सयमा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । 

‘सुरुमा बढी मेहनत लाग्छ किबीमा २०७७ सालमा लगाएको किबीले गत वर्षदेखि उत्पादन दिन थाल्यो, अघिपछि स्याहार गरिरहन पर्दैन, जागिर तथा अन्य काम गरेर पनि किबीखेती गर्न सकिन्छ’, उनले भने, ‘कोरोनाकालमा बाँझो बारीलाई सदुपयोग गर्न लगाएको किबीले वर्षभरिको घर खर्च पुगे भइहाल्यो, कोदो जम्मा आठ–दश मुरीमात्र फल्थ्यो पहिला त्यही बारीमा ।’ बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीका रूपमा किबीलाई लिन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । ई कँडेलले यो वर्ष रु तीन लाख बढीको किबी बिक्री गर्ने लक्ष्य लिएका छन् । 

पछिल्लो समय बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, खेतीयोग्य अन्य जग्गामा काम गर्ने जनशक्ति अभाव भइरहेका सन्दर्भमा जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबी बनेको छ । काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने यस वर्ष २० क्विन्टल किबी फलेको बताए । उनले किबीको बजारीकरणका लागि स्थानीय तहलाई नीति बनाउन आफूले सुझाएको जानकारी दिए ।

‘२० क्विन्टल किबी फलेको छ, एकै पटक बजारमा पुग्दा बिक्री नहुन सक्छ, कम्तीमा एक महिना राखेर बिक्री गर्न सके राम्रै आम्दानी हुन्छ’, उनले भने, ‘एक पटक लगाउने, समय–समयमा हेरचाह गर्ने र थाक्रो व्यवस्थापन गरेपछि सहजै किबी फल्छ, तरकारी खेतीलाई जस्तो स्याहार गर्नु पर्दैन, फुर्सदको समय उपभोग पनि हुने आम्दानी पनि हुने किबीलाई सुन्तलाको जस्तै बजारीकरणको भने आवश्यकता रहेको अनुभव सुनाउँछन् ।

किबीको उत्पादन बढेपछि छ सय पर्ने किबीको मूल्य भने घटेर तीन सय प्रतिकेजीमा झरेको छ । गाउँ–गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देखिन थालेको छ । केही वर्ष पहिलासम्म आयात गरेको किबी बिक्री गर्दै आएका यहाँका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँ–गाउँमा उत्पादन भएको किबी बिक्री गर्न भ्याइनभ्याइ भएको बताउँछन् । बागलुङ नगरपालिका–८ सिगानाका पूर्व वडाध्यक्ष जितबहादुर जिसीले धानखेत मासेर सुन्तला र किबी खेती गर्दै आएका छन् । बहुगुणी फल भएको भन्दै जिसीले घरमा खाने र पाहुनालाई समेत पठाउने गरेको बताए। आफू वडाध्यक्ष हुँदा किसानलाई सुन्तला र फलफूल खेतीमा आकर्षण गर्न आफैबाट सुरु गरेको बताए । 

बागलुङ –१० भकुण्डेका हर्कबहादुर थापा, निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मी, गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ स्थित लीला घर्ती र ताराखोला गाउँपालिका–५ का नरबहादुर रानालगायत बागलुङका करिब एक सयभन्दा बढी किसान किबीको व्यावसायिक खेतीमा लागेका छन् ।

केही नयाँ छन् भने केही किबीका पुराना किसान छन् । पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फल किबीको राम्रो सम्भावना देखेपछि किसान उत्साहित भएका हुन् । मलजल र थाक्रो राम्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने किबी किसान मेहरसिंह पाइजाले बताए । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ । किबीखेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत कुमार पुनले बताए ।