तिहारमा खेलिने देउसीभैलो पछिल्लो समय संस्कृतिको जगेर्नासँगै सामाजिक उद्देश्य राखेर खेलिएको छ।तिहारको संस्कृति संरक्षणसँगै विद्यालय सुधार गर्न, कोष स्थापना गर्न, पूर्वाधार बनाउनलगायत उद्देश्य राखेर देउसीभैलो खेल्न थालिएको हो ।
बागलुङ बजारका चोकचोकमा तिहारमा देउसीभैलोका गीत गुञ्जिएका थिए । गाउँघरमा समेत तिहारको रौनकता छाएको थियो । क्षत्री समाज बागलुङ, मगरसङ्घ बागलुङ, डाइनामिक डान्स ग्रुप बागलुङ, सुनौलो बागलुङ र मगर आमा समूहलगायतको देउसीभैलोले बागलुङ बजारसहित अन्य क्षेत्र गुञ्जयमान भएको थियो।
क्षत्री समाजले कोष स्थापना गरेर आर्थिक अवस्था कमजोर भएका, गरिबको हितमा खर्चगर्ने उद्देश्य राखेर देउसीभैलोमार्फत रु तीन लाख सङ्कलन गरेको जनाएको छ । यस्तै मगर समाजले बागलुङले मगर एकताको सन्देश दिँदै मगर संस्कृतिलाई जोगाउनका लागि सङ्कलित रकम खर्च गर्ने जनाएको छ ।
देउसीभैलो कन्र्सटलगायत कार्यक्रम विभिन्न समयमा भए पनि यसले संस्कृति संरक्षण गर्न नसकेको जनगुनासोलाई चिर्दै नेपालको जातजाति र भाषा संस्कृतिलाई समेटेर भैलो देखाइएको मगर सङ्घ बागलुङका सचिवालय सदस्य तथा प्रचारप्रसार प्रमुख सङ्घ घर्तीले जानकारी दिए । मगर सङ्घले हालसम्म रु पाँच लाख सङ्कलन गरेको भन्दै सङ्कलित रकमले लोपोन्मुख मगर संस्कृतिको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गर्ने उनले बताए ।
गरिब विद्यार्थीलाई कापी, कलम, दीर्घरोगीलाई उपचार खर्च जुटाउनका लागि सुनौलो संस्था बागलुङले बर्सेनि देउसीभैलो खेल्दै आएको संस्थाका अध्यक्ष दिलीप प्रतेलले उल्लेख गरे । उनले सामाजिक काममा सक्रिय संस्थाले देउसीभैलोबाट सङ्कलन भएको रकमले दीर्घरोगी तथा शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग गरिरहेको बताए । उनका अनुसार भैलोबाट रु दुई लाख सङ्कलन भएको छ । नेपालका सबै भाषा, धर्म र संस्कृतिलाई समेटिएको देउसीभैलोमा नाचगान प्रस्तुत गरिएको प्रतेलको भनाइ छ । देउसीभैलोमा मारुनी, सालैजो, यानिमाया र सुनिमायाजस्ता गीतहरु देउसीभैलोमा घन्किएका छन् ।