Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अब टोलीको मेहनत अर्को खेल जित्ने गरी हुने समेत बताएका छन् । 

‘साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्ने गरी हुनेछ । धन्यवाद नेपाली टोली’, ओलीले लेखेका छन् । आज बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । प्रधानमन्त्री आफैं नेपाल र बंगलादेशबीचको खेल हेर्न रंगशाला पुगेका थिए ।

Kp sharma oli priminister of nepal1(1).jpg

साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले पराजित गर्‍यो । खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्‍याएकी थिइन् ।

तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए । यसअघि पाँच पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट चुकेको छ । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।