Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

डा.भट्टराईले माओवादीलाई दिए ‘प्रचण्ड’ गुटको संज्ञा

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रलाई ‘प्रचण्ड’ गुटको संज्ञा दिएका छन् । उनले अब ‘प्रचण्ड’ले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्ड’पन्थी’ भन्न उपयुक्त हुने टिप्पणी गरेका छन् ।

माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरीसहित आधुनिक नेपाल राज्य बने यताकै सबैभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जन निर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयसँगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘त्यसपछि त्यो आन्दोलन (जुन ’पार्टी’ मात्र थिएन) लाई हाम्रो प्रस्ताव अनुसार नयाँ युगको नयाँ कार्यभार (जुन तीव्र आर्थिक सामाजिक रूपान्तरण हुनुपर्दथ्यो, अझै हुनुपर्छ) पूरा गर्न वेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नुपर्दथ्यो । परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका ‘प्रचण्ड’ले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता-स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो ।’

उनले ‘प्रचण्ड’को पार्टीको संसदीय सीट संख्या ३२ नभई ३० मात्रै भएको दाबी गरेका छन् । उनले थपेका छन्, ‘२०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनाव चिन्ह लिएर जितेको २ सिटलाई समेत कानूनी छिद्रमा टेकेर ‘प्रचण्ड’ले आफ्नो दाबी गरेका मात्र हुन्। साथै गोरखा र सर्लाहीका २-२ निर्वाचन क्षेत्रमा ‘प्रचण्ड’को पार्टीको नाउँमा देखिएको बढी मत नेसपाको उल्लेख्य मत जोडेर मात्र देखिएको हो। त्यो घटाउँदा कति हुन्छ आफैँ बुझौँ !’