सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो ।
सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको जानकारी दिँदै बाँकी सदस्यको नाम २४ घण्टापछि सार्वजनिक गरिने बताएका छन् ।
रिजाल अध्यक्ष रहेको आयोगमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाइँ, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोबर्द्धन कोली र आरती भण्डारी सदस्य छन् । यसअघि आयोग गठनका लागि गठन आदेश समेत मन्त्रिपरिषदबाट जारी भएको थियो । अब सोही आदेश अनुसार आयोगले काम गर्नेछ ।
आयोगका अध्यक्ष रिजाल एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार थिए । तर पाल्पाका राधाकृष्ण कँडेलसँग पराजित भएका थिए ।नेकपा एमालेसँग गठबन्धन गरेपछि ८ चैत २०८० मा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस नेता केशव निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोग खारेजीको निर्णय गरेको थियो ।