Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बालुवाटारमा पक्राउ रास्वपाका सांसदसहित ५१ कार्यकर्ता छाडिए

रास्वपाले भन्यो–कानुनी अधिकार प्रयोग गर्दा दमन गरियो

बालुवाटार घेराउ जाँदा आज मंगलबार दिउँसो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसहित ५१ कार्यकर्तालाई प्रहरीले साँझ छाडेको छ ।  दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न भन्दै बालुवाटार पुगेका सांसद अशोक चौधरीसहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यलयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सबैजनालाई छाडिएको जानकारी दिएका छन् । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । यता रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारले आफूहरुविरुद्ध दमन गरेको बताएका छन् ।  

कानुनबमोजिम विरोध प्रदर्शन गर्दा राज्यले नागरिकको हकहित संरक्षण गर्नु, हस्तक्षेप नगर्नु र बल प्रयोग नगर्नु, राज्य र राज्यका अंगहरुको कर्तव्य हुने भन्दै मंगलबार रास्वपा नेता र कार्यकर्तालाई पक्राउ गरेको आरोप लगाए । 

रास्वपा केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका आन्दोलन संयोजक तथा केन्द्रीय सदस्य पुकार बम, सांसद अशोक चौधरी र केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, रास्वपा काठमाडौंका सभापति प्रदीप विष्ट, रास्वपा ललितपुरका सभापति बुद्धरत्न महर्जनसहित ५१ जना गिरफ्तार भएका उनले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको र भ्रष्टाचारविरुद्ध केही दिनदेखि काठमाडौँसहित देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेको छ ।