Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बालुवाटारमा रास्वपा र प्रहरीको घम्साघम्सी भएपछि...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटार क्षेत्रमा प्रदर्शन गरिरहेको छ । रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा उक्त पार्टीले प्रधानमन्त्री निवास नजिकै प्रदर्शन गरेको हो । 

प्रहरीले प्रदर्शनका लागि भेला भएका तीन दर्जन नेता–कार्यकर्ता प्रकाउ गरेको छ । प्रहरीले धरपकड सुरू गरेपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी चलेको थियो । 

प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गर्न नपाउने भन्दै माइकिङ गरेको थियो । रास्वपाको प्रदर्शन रोक्न प्रहरीले सडकमै तारबार समेत लगाएको छ। प्रहरीको अवरोधका बाबजुद रास्वपाले जुलुस र नाराबाजी गरेका छन् । 

रास्वपाको प्रदर्शनका कारण बालुवाटार क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीले विभिन्न स्थानमा निषेधित क्षेत्र लेखेर ब्यारिकेड लगाएको छ । ती क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई पनि प्रहरीले सोधपुछ गरिरहेको हो । 

अहिले रास्वपाले बालुवाटारको भाटभटेनी क्षेत्रमा प्रदर्शन गरिरहेको छ । सहकारीको बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी छ । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।