Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

धनराज गुरूङ र ऋषिकेश पोखरेल दोषी देखिए सरकारले कार्वाही गर्नुपर्छः गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् । गुरूङ ललितपुरको मितेरी सहकारी प्रकरणमा जोडिएका छन् । काठमाडौंमा सोमबार राष्ट्र बैंकका कर्मचारीहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले उपसभापति गुरूङको संलग्नताको चर्चा भएकोले अनुसन्धान गर्न सरकारसँग माग गरेका हुन् ।

‘कांग्रेसका उपसभापति धनराज गुरूङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ, सहकारीसम्बन्धी संसदीय समितिमा पनि यस विषयमा छलफल भयो, बहस भयो र थप अनुसन्धान गर्नुपर्छ, म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकाइदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नु पनि पर्छ,’ महामन्त्री थापाले भने । उनले नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘एमाले नेता ऋषि पोखरेलको पनि नाम आयो, गर्नुस् अनुसन्धान,’ उनले भने, ‘यदि गल्ती गर्नु भएको छ भने अभियोजन गर्नुस् र दण्ड दिनुस् ।’ गल्ती गरेको छ भने कांग्रेस, एमाले, रास्वपा जो भए पनि कारबाहीको दायरामा आउनुपर्ने उनले बताए।  

‘पाँच पटक प्रधानमन्त्री बनेको होस्, ठूलो होस्, सानो होस् कि अहिले भइरहेको प्रधानमन्त्री हो कि भोलि हुने प्रधानमन्त्री हो जोसुकै होस् कानुनभन्दा माथि कोही पनि छैन । न्यायको कठघरामा सबै उभिनु पर्छ भन्ने कुरा सरकारले स्थापित गराउन सक्नुपर्छ,’ उनले भने । यति कुरा गराउन सके मात्र जनतामा विश्वासको वातावरण बनाउन सकिने थापाले बताएका छन् ।