Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गरौंः सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्की भण्डारीले आफूहरूले न्यायपालिकाको काम–कारबाही प्रभावित गर्न नखोजेको बताएकी छन् । आफ्नो पार्टी सभापति रवि लामिछानेलाई थुनामा राख्दा स्वस्फूर्त जमातले चिन्ता व्यक्त गरेको उनले बताइन् ।

‘रास्वपाले न्यायपालिका प्रभावित गर्न खोजेको होइन’, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले भनिन्, ‘देशको चौंथो ठूलो पार्टी, जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक हो ।’

लामिछानेलाई थुना बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने विषयमा सोच्न उनले बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकलाई आग्रह गरिन् । लामिछानेका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलाको बोली र हालको काम–कारबाही मिल्दो नभएको पनि उनले बताइन् । ‘प्रधानमन्त्री ज्यू, पहिले निर्दोष हुनुहुन्छ भन्नु भएको थियो । अहिले सामञ्जस्य भएन कि १ न्यायसंगत होस्’, उनले भनिन् ।

गृहमन्त्री रमेश लेखक सहभाागी बैठकमा उनले भनिन्, ‘रवि लामिछाने ज्यूले आफ्नो बयान र प्रमाण संसदीय समितिमा पेश गरिसकेको अवस्था छ । उहाँले कुनै प्रमाण नष्ट गर्नु हुँदैन । उहाँ भागेर जाने व्यक्ति पनि होइन । गृहमन्त्रीलाई मेरो अनुरोध छ । रवि लामिछानेलाई थुना मुक्त गरेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु ।’

उनले थपिन्, ‘समितिको बैठकमा प्रधानमन्त्री आउने कुरा थियो, तर अन्तिम समयमा आउनु भएन । उहाँ आएको भए उहाँको अगाडि राख्ने सोचेकी थिइनँ । नआए पनि यसै समितिमार्फत आग्रह गर्न चाहन्छु, प्रधानमन्त्रीप्रति मेरो मनैदेखि सम्मान छ । मैले मेरो प्रधानमन्त्रीले लिने निर्णयमा ठाडो शीर गरेर सम्मान गर्न चाहन्छु, तर समिति, सडक र सदनको भनाइ र गराईमा सामञ्जस्यता ल्याउन जरुरी छ । सबैको अगाडि प्रष्ट रुपमा यसअघि प्रधानमन्त्रीले रवि लामिछानेको संलग्नता छैन भन्नु भएको थियो । अहिले त्यसको उल्टो कार्य र निर्णय हुँदा चुप बस्नु हुन्छ?’