Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एमालेले रावल, पाण्डे र तिम्सिनासँग माग्यो स्पष्टीकरण

एमालेले सहयोग प्राप्त गर्ने कुरा कुनै अवाञ्छित र अनुचित होइनः महासचिव

एमाले पार्टीको भवन निर्माणको विषयमा पार्टीको निर्णयविरुद्ध उभिएको भन्दै तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सचिवालयको आइतबारको बैठकले पूर्व उपाध्यक्ष भिम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एमाले महासचिव शंकर पोखरेललले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोधिएको जानकारी दिए । उनीहरुले व्यापारीबाट मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी भवन निर्माण गर्ने कुरा गलत भएको भन्दै अभिव्यक्ति दिएका थिए । रावलले त अन्य अन्य विषयमहरूमा पनि यसअघि देखि नै बोल्दै आएको महासचिव पोखरेलले बताए ।

'केन्द्रीय कार्यालयको भनव निर्माणको बहसमा पार्टी निर्णयको विरुद्धमा जाने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ । पार्टीको नीतिसँग असहमत भइ विचार प्रकट गर्ने पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय छु महासचिव पोखरेलले बैठकपछि भने,'के कति कारणले त्यस्ता गतिविधि गर्नुभएको भन्ने सोधिएको छ ।'

गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।

स्थायी कमिटी सदस्य पाण्डेले 'पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो' भनेकी थिइन् ।

'दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछु स्थायी कमिटी सदस्य पाण्डले भनेकी थिइन्,' समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनैपर्छ । समयमै सोचौं ।'

केन्द्रीय सदस्य तिम्सिनाले व्यापारीले बनाइदिएको महलभन्दा आफ्नै पसिनाले सिञ्चित भवन प्यारो हुने बताएकी थिइन् । उनले निर्णय फिर्ता लिन अनुरोध गर्दै भनेकी थिइन्- हामीलाई कुनै व्यापारीले बनाइदिएको ठूलो महलभन्दा मदननगरमा जति मिल्छ त्यति नै आफ्नो पसिनाले सञ्चिएको भवन प्यारो र गर्विलो हुनेछ । म नेतृत्वसमक्ष निवेदन गर्न चाहन्छु यो निर्णय फिर्ता लिइयोस् । हामीलाई बाँचुञ्जेल एमाले भएर स्वाभिमानकासाथ उभिनेर भूमि बाँकी राखिदिनुहोस् ।'

 स्वार्थ बाझिएको छैनः  महासचिव
नेकपा (एमाले)ले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट  जग्गा प्राप्त हुँदा कुनै स्वार्थ नबाझिने बताए । आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि एमालेका महासचिव पोखरेलले जग्गा प्राप्तिमा देखिएका जटिलता कानुनी प्रक्रियाबाट समाधान गर्ने पनि बताए । भने, ‘महाविपत्तिका बेलामा भएको क्षतिको सहयोग प्राप्त गर्ने हक हरेकलाई हुन्छ । र, त्यो नेकपा एमालेलाई पनि छ भन्ने कुरालाई बुझ्नुपर्दछ । त्यस अर्थमा नेकपा एमालेले सहयोग प्राप्त गर्ने कुरा कुनै अवाञ्छित कुनै अनुचित काम होइन, विपतका बेला संकट परेकाहरूलाई सहयोग गर्ने कुरा राज्यको दायित्वको कुरा हो ।’