सरकारले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई चिडियाखाना हस्तान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले मन्त्रिपरिषद् बैठकले विपद्जन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुनर्निर्माण प्रयोजनका लागि सरकारलाई अनुदान स्वरुप प्राप्त हुने मालबस्तुमा भन्सार महसुल छुट दिने निर्णय गरेको जानकारी दिए ।
उनले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस समिति पुनर्गठन गर्ने निर्णय भएको जानकारी दिए । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य रहने छन् ।
सरकारले मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानूनविद्, विधि विज्ञानवेत्ता, द्वन्द्वविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संलग्न व्यक्तिहरूमध्येबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङलाई समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक पदमा आशिष गजुरेललाई पुनः नियुक्त गर्ने निर्णय बैठकले गरेको मन्त्री गुरुङले जानकारी दिए । ०८१ कात्तिक १८ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सातौं बैठकमा मन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङका अनुसार विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको बैठकले गरेको छ । विश्व बैंकबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने लगायत ३० वटा निर्णय बैठकले गरेको मन्त्री गुरुङले जानकारी दिए ।
हेर्नुस् मन्त्रिपरिषद बैठकका निर्णय


