Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेलाई कास्की अदालत उपस्थित गराइयो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।

आइतबार दिउँसो प्रहरीले लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थि गराएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो ।

शनिबार राति पोखरा पुर्‍याएका लामिछानेलाई प्रहरीले आइतबार अदालत उपस्थित गराएको हो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा कागजपत्र मिलाएर लामिछानेलाई जिल्ला अदालत लगिएको हो । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेको म्याद थपका लागि न्यायाधीश नवराज दाहालको इजलासमा पेसी तोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ ।

त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । यसअघि पक्राउ परेर मुद्दा चलाइएकामध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा रहेको पनि उनले जानकारी दिए ।