Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था कडा

सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज आइतबार कास्की जिल्ला अदालत पेश गर्ने भएको छ । गत शुक्रबार काठमाडौंमा पक्राउ परेका सभापति लामिछानेमाथि थप अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थप थपका लागि अदालत पेश गरिन लागेको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको छ । प्रहरीका अनुसार बिहान १० बजे लामिछानेलाई अदालत पेश गरिनेछ । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले अदालतमा माग गर्ने तयारी गरेको छ ।  

म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ । जिल्ला अदालत कास्कीले शुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।सोही आधारमा प्रहरीले लामिछानेलाई पार्टी कार्यालयबाट नियन्त्रणमा लिएको थियो । पोखरामा सहकारी पीडित र रास्वपाका नेता–कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ । रास्वपाका कार्यकर्ता र सहकारी बचतकर्ता आमने–सामने हुँदा सुरक्षा चुनौति नबढोस् भनेर विशेष ध्यान दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिएका छन् । 

रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् । रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामै आएर शनिबारदेखि नै प्रदर्शन तथा दबाब कार्यक्रमको नेतृत्व गरिरहेका छन् । रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् ।

सूर्य दर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक रहेका लामिछानेलाई पक्राउ गरिएको हो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत अपचलनमा रवि लामिछानेको संलग्नता रहेको भन्दै अनुसन्धानका लागि सरकारलाई सिफारिस गरेको थियो । सोही मुद्दामा पूर्व एआइजी छबिलाल जोशी र सञ्चालक कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने अहिलेसम्म फरार छन् । लामिछाने विरुद्ध परेको उजुरीका आधारमा प्रहरीले उनलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।