Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छ : पुष्पकमल दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रममा उनले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिए ।  

KA_BHARATPUR_IMG_7987.jpg

अध्यक्ष दाहालले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गरे । “शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा अरूकै भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो । अहिले त्यो विन्दुमा पुगेका छौँ । त्यसैले एकताबद्ध भएर अगाडि बढौँ”, उनले भने ।

अध्यक्ष प्रचण्डले पछिल्ला उपलब्धिको रक्षा गर्न आमजनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने गरी अगाडि बढ्नुको विकल्प नरहेको बताए । उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, योद्धाहरूको स्मरणमा जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनेलगायत काम गरिएको उल्लेख गरे। 

KA_BHARATPUR_IMG_7956.jpg

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए आगामी निर्वाचनमा पहिलो संविधानसभाको जस्तै अवस्था आउने बताए। जनताको जीवन बदल्ने अभिभारा पूरा गर्न एकता आवश्यक रहेको धारणा राखे। 

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र सङ्घीयतालाई संस्थागत गर्दै लैजानुपर्ने बताइन्। त्यसका लागि माओवादी र वामपन्थी एकता जरुरी रहेको उनको भनाइ थियो । 

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढङ्गले सोच्ने बेला आएको बताए । उनले सबै कम्युनिष्ट नेताहरूसँग छलफल भइरहेको र माओवादी शक्ति सङ्गठित भएर समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताए ।