Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेलाई बिहान ३ बजे कास्की प्रहरीको जिम्मा लगाइयो


रातभरको कार्यकर्ताको नाराबाजीलाई छल्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको जिम्मा लगाएको छ।

शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याएको सीआईबीले शनिबार बिहानका राति करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको हो।

सीआईबीले सुरुमा रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको थियो। उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

रविलाई पोखरामा पुर्याएर कास्की प्रहरीको हिरासतमा राखेपछि रास्वपा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालसँगै रविपत्नी निकिता पौडेलले भेट गरेका थिए। त्यसअघि कार्यकर्ताले प्रहरी कार्यालयमा रविको पक्षमा नाराबाजी गरिरहेका थिए।

सडकमार्गबाट पोखरा जानेक्रममा बाटोमासमेत ठाउँठाउँमा रविको समर्थनमा नाराबाजी गर्न कार्यकर्ता सडकमा उपस्थित भएका थिए। उनीहरुले सकारकारको विरोध गर्दै रविको पक्षमा नाराबाजी गरेका थिए।