Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछाने पक्राउ परेपछि सीके राउतले के भने?

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपा सभापति रवि लामिछानेको गिरफ्तारीलाई प्रतिशोध र निषेधको राजनीति भनेका छन्। सहकारी ठगी प्रकरणमा प्रहरीले लामिछानेले पक्राउ गरेपछि राउतले यस्तो टिप्पणी गरेका हुन्।

‘रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनँ,’राउतले सामाजिक सञ्जालमा लेखेका छन्,‘यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णीम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राउ राज्यद्वारा फ्रेमिङ्ग गरिएको हो।’

आफूहरूको धरातल र एजेण्डा फरक भए पनि लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा मतैक्यता रहेको उनले उल्लेख गरेका छन्।राउतले राज्य चलाउने, सरकारमा बस्ने पार्टी र शीर्ष नेताहरूले ऐन कानुनको दुरुपयोग गर्दै आएको जिकिर गरेका छन्।

उनले भनेका छन्,‘उनीहरूले आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई तह लगाउन, आफ्नो पार्टीमा जबजरस्ती प्रवेश गराउन, अनुचित आर्थिक वसुली गर्न त्यसको प्रयोग हतियारको रूपमा गर्दै आएका छन्।’