राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार उनले दसैँअघि नै राजीनामा बुझाएका थिए । उनको राजीनामा पार्टीबाट पनि स्वीकृत भइसकेको जनाइएको छ ।
पार्टीको विधान अनुसार सक्रिय राजनीतिमा संलग्न रहनका लागि अनुशासन आयोगमा बस्न नमिल्ने व्यवस्थाका कारण न्यौपानेले पदबाट राजीनामा दिएको झाले जनाएका छन् । ‘पार्टीको विधान अनुसार अनुशासन आयोगमा रहेका व्यक्तिले प्रत्यक्ष दलको राजनीति गर्न सक्दैन । अनुशासन आयोगमा भएको व्यक्तिले राजनीतिक रुपमा कुनै पद वा अपेक्षा राख्न पाइँदैन,’ झाले भने ।
रास्वपा अहिले महाधिवेशनको तयारीमा छ । पार्टी महाधिवेशन हुनुभन्दा ६ महिनाअघि नै अनुशासन आयोगमा रहेको व्यक्तिले पदाधिकारी वा कुनै पदमा अपेक्षा राखेको खण्डमा कुलिङ पिरियड राखेर पद छाड्नुपर्ने व्यवस्था अनुसार न्यौपानेले राजीनामा दिएको झाले बताएका छन् । न्यौपाने कानुन व्यवसायी समेत हुन् ।
स्थापनादेखि नै रास्वपामा सक्रिय न्यौपानेले तत्कालीन महामन्त्री डा। मुकुल ढकाललाई स्पष्टीकरण सोधेका थिए ।अनुशासन आयोगका प्रमुख भरतमणी देवकोटा अमेरिका रहेको बेला कार्यवाहक प्रमुखको जिम्मेवारीमा रहेका देवकोटाले ढकाललाई स्पष्टीकरण सोधेका थिए । पार्टीभित्र भएको छलफल अनुसार नै न्यौपानेले राजीनामा दिएको र अन्य कुनै समस्या नभएको झाले बताए ।