Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

माओवादीका अध्यक्ष प्रचण्डलाई प्रश्न - दशैं कस्तो भयो? (भिडियोसहित)

केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने अध्यक्ष प्रचण्डको दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं आफ्नो प्राथमिकतामा नपरेको बताएका छन् ।

वडादशैंलाई आफूले पहिलेदेखि नै महत्व नदिएको तर परिवारका सदस्यहरुलाई साथ दिने गरेको प्रतिक्रिया दिए ।  ‘जनयुद्धभरी र त्यपपछि पनि दशैं मेरो त्यति प्राथमिकतामा पर्दैन । यसलाई सामान्य रुपमै लिनेगर्छु ।  घरमा परिवारका सदस्यहरु, छोराछोरी, नाति नातिनाहरुलाई टीका लगाउने गर्छन । उनीहरुलाई सहयोग चाहीं गर्छु,’ अध्यक्ष दाहालले भने ।

अध्यक्ष दाहालले दशैंमा प्राय टीका लगाउने गरेका छैनन् । तर २०७४ सालमा भने उनको निधारमा रातो टीका लगाएको तस्वीर सार्वजनिक भएको थियो । लाजिम्पाट निवासमा रहँदा उनले मामा ससुरा र सासुको हातबाट टीका लगाएको तस्वीर उनकी छोरी गंगा र छोरा प्रकाशले सार्वजनिक गरेकी थिइन ।

केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने अध्यक्ष प्रचण्डको दावी
प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका छन् ।  उनले आफूले मात्र नभइ धेरै मानिसहरुले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने संकेत गरेको उल्लेख गरे ।

‘मलाई के लाग्छ भने यो सरकार जुन रुपमा र जसरी बन्यो सुरुमै मैंले अनुमान गरिसकेको थिए । सरकार धेरै समय जाँदैन भन्ने लागेको थियो । अहिलेको घटनाक्रमहरुले करिब करिब त्यस्तै संकेत गरेको छ । हुनसक्छ केही समयपछि नयाँ राजनीतिक वातावरण बन्नसक्छ र धेरैको आंकलन पनि त्यही छ,’ उनले भने ।

तर माओवादी केन्द्र सरकार परिवर्तन गर्नेतर्फ नजाने पनि स्पष्ट पारे । संगठन बनाउन र जनतामा जानेतिर पार्टी सक्रिय भएको उनको भनाइ छ । ‘सरकार परिवर्तन गर्नेतर्फ माओवादी केन्द्र सक्रिय भएर लाग्दैन । जनतामा जानेतर्फ, संगठन बनाउनेतर्फ र जनतातिर फर्किनेतर्फ नै पार्टीले उच्च प्राथमिकतामा राख्नेछ । मैंले भनेको छु यो सरकार गलत तरिकाले, वडो अप्राकृतिक, अपारदर्शी र अनैतिक रुपमा बनेकाले आफैं ढल्छ भने लाग्छ । हामीले धेरै मेहेनत गर्नुपर्छ भन्ने नै लाग्दैन,’ अध्यक्ष दाहालले भने ।

बेइमानीपूर्वक आफ्नो सरकार ढालेर पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको टीप्पणी गर्दै आएका अध्यक्ष दाहालले यसअघि गठबन्धनमार्फत चुनाव लड्दा माओवादीको अस्तित्व नै हराउने देखिएकाले अब एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको बताउँदै आएका छन् । उनले विपक्षी दलहरुको मोर्चालाई बलियो पार्ने रणनीति लिएको प्रतिक्रिया दिंदै आएका छन् ।   

भिडियो: