राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सोमबार राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे ‘रिपोर्टिङ’ भएको छ ।
भेटका अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए । यही असोज ४ गते महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए ।
महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने स् वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रीत रहेर छलफल भएको थियो ।