Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अखिल क्रान्तिकारीको बन्द सत्र स्थगित, खुमलटार पुग्यो विवाद

नेकपा माओवादी केन्द्रको  विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को बन्द सत्र स्थगित भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्नेमा विद्यार्थी नेताहरूबीच उत्पन्न विवाद समाधान नभएपछि बुधबारका लागि बन्द सत्र स्थगित भएको हो ।

‘हाम्रो संगठनको २३ औं राष्ट्रिय सम्मेलनको जारी बन्द सत्र बुधबार स्थगित गरिएको छ,’ अध्यक्ष मण्डलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘बन्द सत्र असोज १७ गते बिहान १० बजेदेखि सञ्चालन हुने जानकारी गराइन्छ ।’ उमेर हद राख्ने कि नराख्ने भन्ने बारेमा विवाद बढेपछि असोज १० गतेदेखि सुरू भएको राष्ट्रिय सम्मेलनमा अझै निर्वाचन प्रक्रिया सुरू भएको छैन । क्रान्तिकारीका निवर्तमान पदाधिकारी उमेर हद लगाउन नहुने पक्षमा छन् भने अधिकांश प्रतिनिधि उमेर हदको पक्षमा छन् ।

विवाद बढेर हुलदंगा भएपछि  समस्या समाधान गर्न भन्दै नेकपा (माओवादी केन्द्र) ले उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ । उनले विद्यार्थी नेताहरूसँग मंगलबार राति पनि अबेरसम्म छलफल गरेका थि ए। तर छलफलमा कुनै सहमति हुन नसकेको अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान अध्यक्ष एवम् प्रवक्ता जिपी मैनालीले बताए ।

बुधबार अखिल (क्रान्तिकारी) का पदाधिकारीहरूबीच अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुँदैछ । उमेर हद लगाएर निर्वाचन गर्ने, जो पनि उम्मेदवार हुन पाउने गरी निर्वाचन गर्ने र सम्मेलन अहिलेका लागि स्थगित गर्ने तीन विकल्पमाथि केन्द्रित रहेर बुधबार छलफल हुने एक नेताले जानकारी दिएका छन् ।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै भनेका थिए, ‘पार्टीले कुनै पनि हस्तक्षेप गर्दैन, यही हलबाट नेतृत्व टुंगो लगाउनुस् ।’ तर, केही दिनयता बन्द सत्रमा चलिरहेको लफडा हेर्दा प्रचण्डले भने जस्तो विद्यार्थी नेताहरुले आफै नेतृत्व टुंगो लगाउने देखिंदैन । अब पार्टीले हस्तक्षेप गर्नुपर्ने अवस्था सिर्जना भएको नेताहरु बताउँछन् ।

1(41).jpg