विपदबाट यो खालको क्षति होला भन्ने अनुमान थिएन
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो विपद (बाढी–पहिरो) बाट यस प्रकारको क्षति होला भन्ने अनुमान सरकारले नगरेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले विपदको पूर्व तयारी गरे पनि क्षति मूल्यांकन गर्न नसकेको बताएका हुन् । प्रधानमन्त्री ओलीले यस खालको विपद् सरकार र राज्यको मात्रै नभएर समग्र नेपालीकै समस्या भएकाले सबै एकजुट भएर सामना गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले बाढी–पहिरो गयो भन्ने बित्तिकै आफू अमेरिकाबाट हिँडेको बताएका छन् । मौसम पूर्वमानुमान महाशाखाले असोज ७ गते नै विपद आउन सक्छ भनेर सूचना दिएपछि सरकारले पूर्व तयारीका काम गरेको तर यति ठूलो विपत्ति आउँला भनेर आफूले समेत कल्पना नगरेको स्पष्ट पारेका हुन् । ‘११ र १२ गते पानी पर्यो, १२ गते बिहानै म अमेरिकाबाट हिँडेको छु भने म यहाँ भइन भन्ने कुरा पनि उठाए । संयुक्त राष्ट्र संघमा जाँदा पहिला नै यस्तो क्षतिको अनुमानअघि नै म जाने कुरा भएको हो’, प्रधानमन्त्रीले भने, ‘१२ गते हिँडेको छु । एक दिन ग्याप हुन्छ १४ गते आइपुगें ।’
‘जनताले भोगिरहेको पीडामा उद्धार, राहत र पुनःस्थापनामा सरकार जुटिरहेको छ । यतिबेला सबै नेपाली एक हुनुपर्छ । साझाबिपत्तिको सामना गर्नुपर्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले बिपत्तिले कुनै राजनीति वा व्यवस्थालाई मर्कामा नपर्ने बताउँदै भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘केही राम्रा काम पनि भएका छन् । चार हजारभन्दा बढी मानिसको उद्धार भएको छ । उहाँहरूको जीवन त बचायौं नि !’, उनले थपे, ‘कमी कमजोरी सच्याउनु पर्छ । यो राज्यको मात्रै विषय होइन । यो सिंगो समाजको विषय हो ।’