Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्रीको अमेरिका भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढायोः एमाले

राहत कोषमा ५० लाख जम्मा गर्ने

नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणले  नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई वृद्धि गरेको निष्कर्ष निकालेको छ । 

होटल बसेरामा बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष समेत रहेका ओलीको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उजागर गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

उनले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक रह्यो। औपचारिक र अनौपचारिक भेटले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने काम भएको छ। त्यसमा नेपालको प्रतिष्ठालाई वृद्धि गर्ने कुरामा भ्रमण उपलब्धिमूलक रहेको निष्कर्ष बैठकको छ ।’

राहत कोषमा ५० लाख जम्मा गर्ने

यसैगरी  सचिवालयको बैठकले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रूपमा एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान पनि गरेको उनको सचिवालयले जनाएको छ।