बाढी–पहिरो आउने कुरालाई रोक्न सकिँदैनथ्यो
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमण भैंसी दोहेर दूध लिनका लागि नभएको बताएका छन् । आज (सोमबार) न्युयोर्क भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
तपाईको न्युयोर्क भ्रमणले मुलुकलाई के अर्थ राख्यो? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘म कुनै भैंसी दुहुन गएर दूध लिएर आएँ भने जस्तो होइन ।’ उनले आफूले देशको तर्फबाट विचार र समस्याहरू राखेको बताएका छन् ।
‘हाम्रा विचारहरू, समस्याहरू राख्न गएको हो । राखियो । यी समस्याहरू एउटा देशका मात्रै होइन । ग्लोबल समस्या ग्बोबलले मिलेर समाधान गर्नुपर्छ भन्ने भयो,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले बाढी र पहिरोमा गर्न सक्नेसम्मको प्रयास गर्ने बताएका छन् ।
‘विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास तत्काल बैठक बसेर, तत्काल सेना प्रहरी खटेर उद्धार कार्य गरेको छ । अब बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । उद्धार गर्ने कुरा हो, राहत पुर्याउने कुरा हो । सूचना गरेर पहिरो जाँदैन’, उनले भने । सरकारले तदारुकताका साथ उद्धार र राहत पुर्याउने काम सरकारको भएको बताए । ओलीले काठमाडौंमा यस्तो गरी बाढी आउला भन्ने कल्पना नगरिएको बताएका छन् । ‘काठमाडौंमा यस्तो गरी बाढी आउला भन्ने कल्पना पनि थिएन । यस्तो कुरालाई वस्तुगत ढंगले लिनुपर्छ’, उनले भने ।