Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रविको पक्राउ चर्चाले चीन भ्रमण छोट्याएर फर्कियो रास्वपाको टोली

छिमेकी देश चीनको १० दिने भ्रमणमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली आज बिहीबार नेपाल फर्किएको छ । पार्टी उपसभापति डा। स्वर्णिम वाग्ले नेतृत्वको टोली आज स्वदेश फर्किएको हो ।

१० दिनका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्ने हल्ला बढेपछि भ्रमण छोट्याएर फर्किएको स्रोतले जनाएको छ । बेइजिङ पुग्ने कार्यक्रम भए पनि उक्त कार्यक्रम स्थगित गरी सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने बताइएको छ । भ्रमण टोलीमा उपसभापति वाग्लेसहित अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ छन् ।

‘यो भ्रमणलाई नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण छोट्याएर आएका छौँ,’ उपसभापति वाग्लेले भने, ‘हामी पनि घटनाक्रमबारे अवगत थियौं । यो अप्ठेरो घडीमा पार्टीमाथि प्रहार भएको छ भने एकमतका साथ निर्णय गरेर फर्किएका हौं ।’