Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बक्यौता रकम छिटो भुक्तानी गर्न सरकारलाई निर्माण व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनु पर्ने बक्यौता रकम छिटो भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आज बुधबार सिंहदरबार कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै बक्यौता रकम छिटो भुक्तानी गर्न ध्यानाकर्षण गराएको हो ।

राज्यबाट निर्माण व्यवसायीलाई यस आर्थिक वर्षमा भएको आशिंक भुक्तानी समेत यस आर्थिक वर्षको विनियोजित बजेटबाट मात्रै भएकाले अब यस वर्ष हुने थप निर्माण कार्यको समेत भुक्तानीमा समस्या हुन सक्नेतर्फ महासंघले सचेत गराएको छ ।

महासंघको ज्ञापन पत्र बुझदै कार्यवहाक प्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले धेरै अप्ठ्यारा चुनौतीहरूको सामना गर्नुपरेको भन्दै सरकारले समाधान गर्ने प्रतिवद्धता जनाए । निर्माण व्यवसायीलाई सहज वातावरण बनाउन आवश्यक परे ऐन नीतिहरूमा समेत परिमार्जन गर्ने उनको भनाइ छ । 

महासंघका अध्यक्ष रवि सिंहले विभिन्न आयोजनाहरूको निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४५ अर्ब  रुपैयाँ पुगेको जानकारी दिए । समयमा नै भुक्तानी नहुँदा व्यवसायीहरूले बैंक ऋण किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करको रकम समेत बुझाउन नसकिएको उनले बताए । 

उनले जतिसुकै भुक्तानी बाँकी भए पनि असार मसान्तमा पाउने गरेपनि यस पटक भुक्तानी नै आउन नसकेको धारणा राखे । महासंघले सरकारले योजनाको प्राथमिकरण गनुपर्ने र कम प्राथमिकतामा परेका योजनाहरूलाई खारेज गर्न सुझाव दिएको छ ।