Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेका क्रियाकलापमा अनुसन्धान रोक्ने नियतः शंकर पोखरेल

सत्तारुढ  नेकपा  एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि उठेका प्रश्नमाथि निर्शत रूपमा अनुसन्धानमा सघाउनु पर्ने बताएका छन् । आज बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारी रकम हिनामिना सम्बन्धमा अहिले भइरहेका क्रियाकलाप अनुसन्धान रोक्ने नियतले भएको बताएका हुन् ।‘

अनुसन्धान रोक्ने गतिविधिहरू कानुनी राज्यको उपहासका गतिविधि हुन्,’ महासचिव पोखरेलले रास्वपा सभापति र सहकारी रकमका सन्दर्भमा सोधिएको प्रश्नमा भने, ‘अनुसन्धानको प्रक्रियाबाट भागेर सुशासन दिन सकिँदैन । आफूमाथि उठेका प्रश्नमा अनुसन्धानमा निःशर्त रूपमा सहयोग गर्नुपर्छ ।’

कम्पनी खडा गरेर प्राप्त गरेको पैसा सहकारीबाट प्राप्त गरेको र सहकारीले कम्पनीमा लगानी गर्न नपाइने नियमविरुद्ध भएको महासचिव पोखरेलको भनाइ छ । सहकारीको रकम दुरुपयोग गरिएको उनले बताए ।

 त्यस क्रममा उनले भने ‘क्लिन चिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अदालतबाट सफाइ प्राप्त गरेमा या अनुसन्धानबाट निर्दोष देखिनुपर्ने हुन्छ । समितिले त कानुनसम्मत कारबाही गर भनेको छ ।’