Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाले गराइन् विश्व समुदायको ध्यानाकर्षण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् । असंलग्न राष्ट्रहरूको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् ।

उनले नेपाल विपिन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरेकी हुन् । गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० नेपालीको ज्यान गएको थियो । 

आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौँ मानिस मारिएका थिए । नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री डा. राणाले बताइन् ।

सम्बोधनका क्रममा मन्त्री डा. राणाले विश्वमा हाल शान्ति स्थापनाका लागि सामूहिक पहलको खाँचो रहेको पनि औंल्याइन् । विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्व, विद्रोह तथा हिंसाजन्य कार्यहरू भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । 

मन्त्री डा. राणाले अहिले पनि विश्वका देशहरू निरन्तर रूपमा जारी रहेका यस्ता द्वन्द्व रोक्न, युद्धबाट सृजित समस्याको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको पनि बताइन् । 

 परराष्ट्रमन्त्री डा. राणाले गाजामा नागरिकहरूको मृत्यु र यसको संख्या सुन्दा र देख्दा बडो हृदयविदारक रहेको तथा रुस युक्रेन युद्धमा नागरिकहरूले पाइरहेको दुःख पनि त्यस्तै रहेको भन्दै यस्ता हिंसाजन्य कार्यहरू तत्कालै रोकी समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन् ।