Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चीन भ्रमणमा गएको रास्वपा टोली भ्रमण रद्द गरेर नेपाल फर्किने

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको निम्तोमा चिन भ्रमण गएका राष्ट्रिय स्वतन्त्र पार्टीको टोली भ्रमण रद्द गरेर फर्किने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि फर्किन लागेको हो । 

नेताहरु व्यक्तिगत रुपमा चीन भ्रमणमा यसअघि गए पनि चिनियाँ कम्युनिस्ट पार्टीले औपचारिक रुपमा निम्तो गरेर बोलाएको भने यो पहिलोपटक हो । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । टोलीमा ७ सांसद र ७ गैरसांसद छन् ।

भ्रमण टोेलीका एक सदस्यका अनुसार पार्टी सभापति लामिछाने विरुद्ध हुने सम्भावित कदमलाई ध्यानमा राखेर फर्किन लागिएको हो । टोली विचैमा भ्रमण रद्द गरेर फर्किने भएपछि पूर्वनिर्धारित कार्यक्रममा सबे रद्द भएको छ । 

पार्टी उपसभापति वाग्ले, अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका छन् ।

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौं फर्किन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए । उनले पार्टीको निर्देशनमा नभई नेताहरु आफैले पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर आफै फर्किन लागेको जानकारी दिए ।