Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रचण्डको आग्रहः सबै माओवादी एकै ठाउँमा केन्द्रित बनौं, ठूलो तागत हुनेछौं

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी एक ठाउँमा केन्द्रित हुनुपर्ने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं साधारण सभालाई सम्बोधन गर्दै उनले माओवादीको मर्म एउटै भएकाले एकै ठाउँ आउनुको विकल्प नभएको बताए । 

‘सबै माओवादी एकै ठाउँ आउनुको विकल्प छैन, माओवादीको मर्म र मुद्दा त साझा छ । माओवादी आन्दोलनसँग सम्बन्धित, शहिद र बेपत्तासँग सम्बन्धित मर्म त एउटै छन् । हामी सबैले माओवादी जतिलाई एकीकृत र केन्द्रीकृत गर्ने बित्तिकै त्यो तागत ठूलो हुनेवाला छ ।’ प्रचण्डले थपे, ‘त्यो तागतले मात्रै प्रतिक्रियावादीको जालजेललाई परास्त गर्छन् । हामीसँग हजारौं शहिद छन्, यो हाम्रो शक्ति हो । प्रतिनिधि सभाका कहिले सानो संख्या होला कहिले ठूलो ।’

अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकारमा हुँदा यो पनि भएन, त्यो पनि भएन भनेर प्रतिक्रियावादीलाई फाइदा पुग्ने काम गर्ने काम माओवादीले गर्न नहुने धारणा राखे । हत्या, हिंसाबारे एमालेका नेताहरु पछाडि नहटेसम्म आन्दोलन जारी रहने उनले बताए । उनले भने, ‘हत्या, हिंसाबारे जो कुरा उठाएका छन् एमालेका नेताहरुले, उनीहरु पछाडि नहटेसम्म हाम्रो आन्दोलन जारी रहन्छ । सबैतिबाट साथ सहयोग चाहिन्छ ।’

प्रचण्डले माओवादी केन्द्रको ध्यान आयोगमा मान्छे ल्याउनेमा रहेको उल्लेख गरे । ‘अब हाम्रो ध्यान चाहिँ आयोग बनाउने र आयोगमा सहि नेतृत्व ल्याउने कुरामा छ । प्रतिनिधि सभामा हामी कमजोर छौं तर माओवादी कमजोर होइनौं, हाम्रो विरासत छ ।’ आफूहरुले प्रतिनिधि सभामा बोलेको बताउँदै उनले सांसद नभएकाले सडकबाट बोलिदिन आग्रह गरे ।