Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

संविधान संशोधन सबैका लागि बहसको विषय बनेको छ: खिलराज रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष  एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गरेका छन् ।

संविधान दिवस–२०८१ को पूर्वसन्ध्यामा दिनुभएको शुभकामना सन्देशमा पूर्वअध्यक्ष  रेग्मीले परिणाममुखी कामले मात्र जनआंक्षा पूरा हुने भएकाले संविधान लक्षित उद्देश्यतर्फ अघि बढन सुझाव दिए।

‘स्थिरता, जनसहभागिता, प्राप्त हकअधिकारको संरक्षण र समृद्धि संवैधानिक मार्गचित्र भएकाले यसको सम्बर्द्धन गर्नु आजको लोकतन्त्रको सारभूत विषय हो । हाम्रा सबै क्रियाकलाप यसतर्फ केन्द्रित हुनुपर्दछ’,उनले भने । 

लामो संघर्ष र जनआन्दोलनको कठिनतम प्रयासबाट लोकतान्त्रिक संविधान प्राप्त भएको स्मरण गराउँदै पूर्वप्रधानन्यायाधीश रेग्मीले वीर सहिदको बलिदान, घाइते, अपांगहरूको संघर्षपूर्ण जीवनले जनताको समुन्नत भविष्यका लागि अघि बढ्न घच्घचाइ रहेको स्पष्ट गरे । संविधान संशोधन सबैका लागि चासो र बहसको विषय बनेको उनले उल्लेख गरे । 

 पूर्वअध्यक्ष रेग्मीले भने,‘अब अलमलिने र अलमल्याउने छुट कसैलाई छैन। आजको प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरुक र सचेत भइसकेका छन् ।’ उनले शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्वपूर्ण कार्यभार र आवश्यकता भएकाले जनताको जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्न सबैलाई सुझाव दिए ।

पूर्वप्रधानन्यायाधीश रेग्मीले आज संविधान संशोधनको विषय एजेन्डाका रुपमा सरकार पक्षबाट उठाइएकाले सार्वजनिक चासो र बहसको विषय बनिरहेको उल्लेख गरे । ‘संविधान दिवसका अवसरमा नेपाली जनताका आकांक्षा र संवैधानिक लक्ष्य सबैको प्राथमिकताको विषय बनोस्, सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, उनले भने ।