Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रास्वपाको आगमन नै अरुका लागि समस्याः रवि लामिछाने

‘हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गछौं’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा शुरु भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीप्रतिको आकर्षण दिन प्रतिदिन बढिरहेको बताएका छन् ।

उनले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि आफूहरुले हस्तक्षेप गर्न राजनीतिमा आएको भन्दै अहिलेसम्मको देशको परिवर्तनमा योगदान गरेकाहरुलाई आफूहरुले अवमूल्यन नगर्ने स्पष्ट गरे ।  सभापति लामिछानेले आफूहरु राम्रो–नराम्रो समस्याको चाङमा रहेको भन्दै आफूहरुको आगमन नै अरुको लागि समस्या बनेको बताए ।

उनले आफूहरुको आक्रमण पनि ठूलो हुने हुनाले आफूहरुप्रतिको आक्रमण पनि ठूलो नै हुने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए । लामिछानेले आफूहरुको यात्रा सजिलो यात्रा नभएकाले अहिले रास्वपा सकियो भन्नेहरुलाई रास्वपा सकिएको होइन रास्वपाले सक्ने दाबी गरे । यो लडाईमा आफूहरुलाई हार्ने छुट नभएको बताउँदै आफूहरुले शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट परिवर्तन गर्ने बताए । उनले मानिसहरुले गोल खान नडराएर जोगाएको लोकतन्त्रमा हामीहरु गाली खान डराउन नहुने बताए ।

सहकारी ठगी प्रकरणको बारेमा बोल्दै लामिछानेले संसदीय समितिले आफूलाई सहकारी ठगी नगरेको भन्दै आफूलाई गोर्खा मिडिया सञ्चालनमा  जवाफदेही भएको समितिले ठहर गरेको बताए । बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेण्डामा छलफल हुनेछ ।

रास्वपाका अनुसार यस भेलामा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिँदैछन् । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ । भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक– उपसंयोजक, प्रदेशको समिति–विभाग, केन्द्रीय समिति–विभाग–आयोगहरूबाट प्रतिनिधित्व रहने पनि पार्टीले बताएको छ ।