Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राजा महेन्द्रको नीति अझै चल्दैछ, अब परिवर्तन हुन्छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो वर्षलाई नीति निर्माण गर्ने र विधेयक पास गर्ने वर्ष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार काठमाडौं आयोजित सामुदायिक रेडियो प्रसारक संघको १८ औं वार्षिक साधारण सभा र अधिवेशनमा उनले राजा महेन्द्रको नीतिले अझै पनि चलिरहेको भन्दै त्यसलाई परिवर्तन गर्ने बताएका हुन् । 

उनले भने, ‘यो वर्ष कतिपय नीति संशोधन गर्नुपर्ने छ । राजा महेन्द्रको नीति त फाल्नुपर्यो नी । गणतन्त्रात्मक शासन प्रणालीमा काम गर्ने नीति बनाउनु पर्यो ।  त्यही नीति अनुसार विधेयकहरु बनाउनुपर्ने हुन्छ । यो वर्ष सबै नीति निर्माण गर्ने, विधेयक पास गर्ने वर्ष बनाउने हो ।’ यसका साथै, उनले पञ्चायतको नीति, कानूनबाट शासित क्षेत्रलाई सुधार गर्ने अवसर प्राप्त भएको भन्दै खुशी पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘कुनै अभियान सञ्चालन गर्नको लागि कुनै अध्ययन हुँदैन, अभ्यास पनि हुदैँन् । नीति पनि हुदैँन् । एक्कासी अभियान सुरु हुन्छ । अझै पनि १९, १५, १३ र २६ सालका कानूनले चलिरहेका छौ । बहुदलमा दुईवटा मात्र कानून बनेको छ, एउटा प्रेस काउन्सिलको र अर्को सञ्चार ऐन संशोधन भएको रहेछ । बाँकी सबै राजा महेन्द्रको कानूनबाट शासित रहेछ । बहुदलीय व्यवस्थामा बसेर पञ्चायतको नीति, कानूनबाट शासित छौं हामी । यसरी कसरी विकास हुन्छ । यसलाई सुधार गर्ने अवसर प्राप्त भएको छ भनेर म खुशी पनि छु ।’

सबै पार्टीले भाषण गर्न जान्ने नेताहरु मात्र धेरै निर्माण गरेको भन्दै कुर्सीमा बसेर शासन गर्न योग्य नेताको आवश्यकता रहेको पनि उनको भनाई छ ।